
मानिसको जीवन एउटा रहस्यमय यात्राजस्तै हो। यो यात्रा जन्मदेखि मृत्युसम्म मात्र सीमित छैन; यो त प्रत्येक क्षण आफ्नै मनसँग भइरहेको अदृश्य संवाद पनि हो। यही संवादमा एउटा प्रश्न बारम्बार उठिरहन्छ— “अब के?” (What next?)एउटा लक्ष्य पूरा भयो भने अर्को, एउटा सपना साकार भयो भने अर्को सपना, र एउटा खुसी प्राप्त भयो भने त्यसलाई छायाँझैँ पछ्याउँदै अर्को अभाव उपस्थित हुन्छ। यही कारणले संसारमा धनको कमीभन्दा बढी सन्तोषको कमी देखिन्छ। महलमा बस्ने मानिस पनि बेचैन छ, झुपडीमा बस्ने मानिस पनि। करोडौँको सम्पत्ति भएको व्यक्ति पनि चिन्तित छ, र दुई छाक टार्न सङ्घर्ष गरिरहेको व्यक्ति पनि।यदि धन, पद, प्रतिष्ठा वा शक्ति नै खुसीका अन्तिम आधार हुन्थे भने संसारका सबै धनी मानिस पूर्ण शान्त र आनन्दित हुनुपर्ने थियो। तर वास्तविकता त्यसको ठीक उल्टो छ। यसको अर्थ बाहिरी वस्तुमा होइन, मानिसको मनमा केही यस्तो छ, जसले उसलाई कहिल्यै पूर्ण हुन दिँदैन।
तृष्णा र अतृप्त मनको मनोविज्ञान
मानिससँग जति हुँदै जान्छ, उसलाई अझै धेरै किन चाहिन्छ? श्रीमद्भागवत महापुराणमा उल्लेखित यो श्लोक विचार गरौँ:
“न जातु कामः कामानामुपभोगेन शाम्यति।”
“हविषा कृष्णवर्त्मेव भूय एवाभिवर्धते॥”
अर्थात्: इच्छाहरू भोगले कहिल्यै शान्त हुँदैनन्। बरु जसरी आगोमा घ्यू थप्दै जाँदा आगो अझ प्रज्वलित हुन्छ, त्यसरी नै इच्छाहरू पूरा हुँदै जाँदा नयाँ-नयाँ इच्छाहरू झन् तीव्र हुँदै जान्छन्।
पूर्वीय दर्शनले यसलाई तृष्णा भन्छ। उपनिषद्हरूले कामना भन्छन्। बुद्धले यसलाई दुःखको मूल कारण भन्नुभयो। आधुनिक मनोविज्ञानले यसलाई अतृप्त मानसिक प्रवृत्ति (An insatiable mental tendency) भन्छ। शब्द फरक भए पनि सङ्केत एउटै हो— असन्तुष्ट मन। बाहिरी संसार सीमित छ, तर मनका इच्छाहरू असीमित छन्। सीमित वस्तुले असीमित इच्छालाई कहिल्यै तृप्त पार्न सक्दैन। यही कारणले मानिसले संसार जितेर पनि आफ्नै मनसँग हारिरहेको हुन्छ।
एउटा सानो बच्चाले खेलौना पाएपछि केही दिनमै अर्को खेलौनाको इच्छा गर्छ। युवाले राम्रो शिक्षा पाएपछि राम्रो जागिर खोज्छ; जागिर पाएपछि ठूलो घर; घरपछि गाडी; गाडीपछि अर्को गाडी; त्यसपछि पद, शक्ति, प्रसिद्धि, प्रभाव र सम्मान। यो क्रम कहिल्यै समाप्त हुँदैन, किनकि प्रत्येक उपलब्धिपछि मनले फेरि सोध्छ— “अब अर्को के?”
लोभको स्वरूप र उपभोक्तावाद
वास्तवमा मनको स्वभाव नै यस्तो छ— उसले प्राप्त वस्तुलाई चाँडै सामान्य बनाइदिन्छ र अप्राप्त वस्तुलाई असाधारण। यसैले प्राप्तिको आनन्दभन्दा पनि अभावमा बढी ध्यान जान्छ। यही कारणले लोभ जन्मिन्छ।
धेरै मानिस लोभलाई केवल धनसँग जोड्छन्। तर लोभ धनमा मात्र हुँदैन— प्रशंसाको लोभ, प्रसिद्धिको लोभ, सत्ताको लोभ, प्रेमको लोभ, सम्मानको लोभ, ज्ञानको लोभ, र आध्यात्मिक उपलब्धिको लोभ; लोभका रूप असंख्य छन्। जहाँ “यति पर्याप्त छैन” भन्ने भावना जन्मिन्छ, त्यहाँ लोभले प्रवेश गरिसकेको हुन्छ।
श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ:
“ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते।”
“सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते॥”
अर्थात्: विषयवस्तुको निरन्तर चिन्तनबाट आसक्ति उत्पन्न हुन्छ। आसक्तिबाट इच्छा जन्मिन्छ। इच्छा पूरा नभए क्रोध उत्पन्न हुन्छ। क्रोधबाट विवेक नष्ट हुन्छ, र विवेक नष्ट भएपछि मानिस आफ्नो पतनतर्फ बढ्न थाल्छ। यो श्लोकले मानव मनको सम्पूर्ण मनोविज्ञानलाई केही शब्दमै स्पष्ट गरिदिएको छ। आजको संसारमा उपभोक्तावादले यही मनोविज्ञानलाई व्यापारको आधार बनाएको छ। हरेक दिन हामीलाई भनिन्छ कि तिमी अझ सुन्दर बन्नुपर्छ, अझ धनी बन्नुपर्छ, अझ प्रभावशाली बन्नुपर्छ। हामीलाई हाम्रो अभाव देखाएर नयाँ चाहना सिर्जना गरिन्छ। परिणामस्वरूप हामीहरू वस्तुहरू किनिरहेका हुँदैनौँ, आफ्ना असन्तोषहरूलाई ढाक्ने प्रयास गरिरहेका हुन्छौँ।
इन्द्रिय संयम र तुलनाको पासो
असन्तोष कुनै वस्तुले ढाकिँदैन। इन्द्रियहरूलाई बसमा राख्नका लागि मन नियन्त्रित बन्नुपर्दछ। नियन्त्रित मनबाटै इन्द्रियहरू नियन्त्रित हुन्छन् र मान्छेले लोभ तथा आसक्तिबाट मुक्ति पाउँछ। यसै सन्दर्भमा आदिकवि भानुभक्त आचार्य भन्नुहुन्छ:
“कस्लाई हो शत्रु भनेर जान्नु, आफ्ना सबै इन्द्रिय शत्रु मान्नु।”
“कस्लाई हो मित्र भनेर जान्नु, जित्या तिनै इन्द्रिय मित्र मान्नु॥”
तपाईंले ध्यान दिनुभएको होला, धेरै समयदेखि चाहेको वस्तु प्राप्त गर्दा केही दिन अत्यन्त खुसी लाग्छ। तर केही समयपछि त्यो सामान्य बन्छ र मन फेरि अर्को वस्तुतर्फ दौडिन्छ। यसलाई आधुनिक मनोविज्ञानले “Hedonic Adaptation” भन्छ। पूर्वीय दर्शनले हजारौँ वर्षअघि यसैलाई तृष्णाको चक्र भनेर व्याख्या गरिसकेको थियो। प्रकृतिलाई हेर्नुहोस्— सूर्यले कहिल्यै अर्को सूर्य बन्न खोज्दैन, नदीले समुद्रसँग प्रतिस्पर्धा गर्दैन, फूलले अर्को फूलको सुगन्ध चोर्न खोज्दैन, र आकाशले पृथ्वीको ईर्ष्या गर्दैन। सम्पूर्ण प्रकृति आफ्नै स्वभावमा सन्तुष्ट छ। असन्तोष त केवल मानिसको मनमा हुन्छ, किनकि मानिसले आफ्नो अस्तित्वलाई अरूसँग तुलना गर्ने बानी पारेको छ।
तुलना लोभको पहिलो ढोका हो। हामी आफ्नो सुखलाई आफ्नै जीवनले होइन, अरूको जीवनले मापन गर्न थालेका छौँ। छिमेकीले नयाँ घर बनायो भने आफ्नो पुरानो घर सानो लाग्न थाल्छ; साथीले महँगो गाडी किन्यो भने आफ्नै गाडी पुरानो लाग्न थाल्छ; सामाजिक सञ्जालमा अरूको सफलताको एउटा तस्बिरले आफ्नै सम्पूर्ण जीवन अधुरो जस्तो अनुभव गराउँछ। यस्तो अवस्थामा समस्या बाहिर होइन, तुलना गर्ने दृष्टिमा हुन्छ।
सच्चा समृद्धि र अन्तरसम्पत्ति
उपनिषद्हरू भन्छन्— “यो वै भूमा तत्सुखम्।” अर्थात् असीम सत्यमा मात्र वास्तविक आनन्द छ। सीमित वस्तुमा असीम सुख खोज्नु मरुभूमिमा पानी खोज्नुजस्तै हो। यसको अर्थ संसार त्याग्नुपर्छ भन्ने होइन। धन कमाउनु, प्रगति गर्नु, सफल हुनु वा सुन्दर जीवन जिउनु कुनै दोष होइन। दोष त्यतिबेला सुरु हुन्छ, जब हामी यी सबैलाई आफ्नो अस्तित्वको आधार बनाउँछौँ।जब “मसँग के छ?” भन्ने प्रश्नले “म को हुँ?” भन्ने प्रश्नलाई ढाकिदिन्छ, त्यहीँबाट आध्यात्मिक पतन सुरु हुन्छ। आध्यात्मिकताको सार संसारबाट भाग्नु होइन; संसारको बीचमा रहेर पनि आफ्नो मनलाई दास नबनाउनु हो। धन कमाउनुहोस्, तर धनको दास नबन्नुहोस्। सम्मान पाउनुहोस्, तर सम्मानको भोकले आफ्नो शान्ति नखोस्नुहोस्। सम्बन्ध बनाउनुहोस्, तर सम्बन्धमा स्वार्थ नखोज्नुहोस्; निःस्वार्थ प्रेम र करुणा शान्तिका अचुक कारण हुन्।सन्तोष भनेको महत्त्वाकांक्षाको मृत्यु होइन, सन्तोष भनेको कृतज्ञतासहितको प्रगति हो। जसले आजको प्राप्ति वा असफलतालाई सम्मान गर्न जान्दछ, उसले भोलिको सफलता वा असफलतालाई पनि शान्तिपूर्वक स्वीकार गर्न सक्छ। जसले आजलाई तुच्छ ठान्छ, उसले भोलिलाई पनि पर्याप्त ठान्ने छैन।आखिर मानिसले कति कमाएपछि पुग्छ? कति वटा घर बनाएपछि पुग्छ? कति सम्मान पाएपछि पुग्छ? यसको उत्तर बाहिरी संसारसँग छैन, किनकि प्रश्न सम्पत्तिको होइन, चेतनाको हो। जसरी खारिएको (नुनिलो) पानी पिउँदा तिर्खा झन् बढ्छ, त्यसरी नै अनियन्त्रित इच्छाहरूलाई मात्र खुवाइरहँदा मन झन् अतृप्त हुँदै जान्छ। त्यसैले ऋषिहरूले बाहिरी सम्पत्तिभन्दा अन्तरसम्पत्तिको खोजी गर्न सिकाए। अन्तरसम्पत्ति भनेको शान्ति, सन्तोष, करुणा, विवेक, प्रेम र आत्मबोध हो। यी सम्पत्तिहरू जति बाँड्यो त्यति बढ्छन्; जति प्रयोग गर्यो त्यति गहिरिन्छन् र त्यति नै चैतन्य प्राप्त हुन्छ।
आखिरमा जीवनको सबैभन्दा ठूलो विजय संसारमाथि होइन, आफ्नै मनमाथि हुन्छ। जसले आफ्नो इच्छालाई विवेकले दिशा दिन सक्छ, उसलाई बाहिरी परिस्थितिले सजिलै विचलित गर्न सक्दैन। र जसले आफ्ना इच्छाहरूको दासत्व स्वीकार गर्छ, उसले सम्पूर्ण संसार जिते पनि अन्ततः आफूसँग हारिरहेको हुन्छ।जीवनले अन्तिम घडीमा हामीसँग बैंक खाताको हिसाब माग्दैन। उसले सोध्छ— के तिमी शान्त थियौ? के तिमीले प्रेम गर्न सिक्यौ? के तिमीले आफूलाई चिन्न सक्यौ? साँचो समृद्धि थैलीको गहिराइमा होइन, चेतनाको गहिराइमा हुन्छ। साँचो सुख प्राप्तिमा होइन, पर्याप्तताको अनुभूतिमा हुन्छ। र साँचो स्वतन्त्रता संसारलाई आफ्नो बसमा राख्न होइन, आफ्नै मनलाई आफ्नो बनाउनमा हुन्छ। त्यसैले, जब अर्को पटक मनले फुसफुसाएर सोध्नेछ— “के अझै धेरै चाहिन्छ?”, तब केही क्षण मौन भएर आफ्नै अन्तरात्मालाई सोध्नुहोस्— “के वास्तवमै मलाई अझै धेरै चाहिएको हो, कि मैले आफूभित्र रहेको पर्याप्ततालाई बिर्सिएको मात्र हो?”













समाचार
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली
रसुवाको विपत्ति :- प्रकृतिलाई दोष दिएर राज्य उम्कन पाउँदैन