सुगौली सन्धिको सक्कल प्रति नेपालमै छ कि छैन? परराष्ट्रमन्त्रीको जवाफले उठायो गम्भीर प्रश्न

काठमाडौं । नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको ऐतिहासिक सुगौली सन्धि, १८१६ को सक्कल प्रति नेपालसँग सुरक्षित छ कि छैन भन्ने विषय फेरि चर्चामा आएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सचेतक निश्कल राईले नेपालसँग सन् १८१६ को सुगौली सन्धि तथा भारतसँग भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति सुरक्षित रहे नरहेकोबारे सरकारसँग जवाफ मागेका थिए।
जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा विभिन्न ऐतिहासिक सन्धि तथा सम्झौतासम्बन्धी दस्तावेज सुरक्षित रहेको भए पनि सुगौली सन्धिको औपचारिक मूल प्रति नै कुन हो भन्ने स्पष्ट प्रमाण सरकारसँग नरहेको बताएका छन्।
मन्त्रीको भनाइले नेपालको इतिहास र राष्ट्रिय महत्वसँग जोडिएको एउटा महत्वपूर्ण दस्तावेजको अभिलेखीकरण अवस्थामाथि नै प्रश्न खडा गरेको छ।
अभिलेखालयमा दस्तावेज छन्, तर सक्कल कुन हो?
परराष्ट्रमन्त्रीका अनुसार राष्ट्रिय अभिलेखालयमा विभिन्न ऐतिहासिक सन्धिसँग सम्बन्धित कागजातहरू सुरक्षित छन्। तर अभिलेखालयमा रहेका सबै दस्तावेजमध्ये कुनलाई सन्धिको औपचारिक मूल प्रति मान्ने भन्ने विषयमा स्पष्टता नरहेको सरकारको भनाइ छ।
यसले एउटा महत्वपूर्ण प्रश्न जन्माएको छ—नेपालको राजनीतिक, भौगोलिक र कूटनीतिक इतिहासमा दूरगामी प्रभाव पारेको सन्धिको सक्कल प्रति आखिर कहाँ छ?
सुगौली सन्धिको मूल पाठ भने विभिन्न ऐतिहासिक स्रोत तथा अभिलेखमा उपलब्ध छ। राष्ट्रिय अभिलेखालयमा समेत सन्धिपत्रसँग सम्बन्धित ऐतिहासिक सामग्रीको संग्रह रहेको बताइन्छ। तर त्यहाँ सुरक्षित दस्तावेजमध्ये मूल प्रति र प्रतिलिपि छुट्याउने विषयमा स्पष्ट सरकारी अभिलेख नहुनु आफैंमा चासोको विषय बनेको छ।
नेपालको भूगोलसँग जोडिएको ऐतिहासिक सन्धि
नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिमा २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको थियो भने ४ मार्च १८१६ मा यसको अनुमोदन भएको ऐतिहासिक अभिलेखहरूमा उल्लेख छ।
सन्धिपछि नेपालको तत्कालीन भूभागमा ठूलो परिवर्तन आएको थियो। त्यसैले सुगौली सन्धि नेपालको आधुनिक राजनीतिक तथा भौगोलिक इतिहासको अत्यन्त महत्वपूर्ण दस्तावेजका रूपमा लिइन्छ।
यस्तो ऐतिहासिक महत्व बोकेको दस्तावेजको मूल प्रति नेपालमै सुरक्षित छ कि छैन भन्ने विषयमा सरकारसँगै स्पष्ट जानकारी नहुनुले नेपालको अभिलेख संरक्षण प्रणालीबारे पनि प्रश्न उठाएको छ।
सन्धिको सक्कल प्रति खोज्नुपर्ने आवाज
सरकारले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेजको विस्तृत अध्ययन गरी सुगौली सन्धिको वास्तविक मूल प्रति, प्रतिलिपि तथा अन्य सम्बन्धित अभिलेख पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।
सन्धिको मूल प्रति नेपालमा भए त्यसको प्रमाणिक पहिचान, संरक्षण र डिजिटल अभिलेखीकरण आवश्यक देखिन्छ। नेपालमा नभए त्यसको अवस्थाबारे सम्बन्धित विदेशी अभिलेखालय तथा कूटनीतिक स्रोतसँग समन्वय गरी खोजी गर्नुपर्ने देखिन्छ।
परराष्ट्रमन्त्रीको पछिल्लो जवाफपछि भने सुगौली सन्धिको सक्कल प्रति कहाँ छ भन्ने प्रश्न इतिहासको पानाबाट फेरि सार्वजनिक बहसको विषय बनेको छ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट