
काठमाडौं । केही दिनदेखि जारी अविरल तथा भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, सडक अवरोध र नदीको बहाव बढ्ने जोखिम बढेको छ। लगातारको वर्षाले राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गसहित ग्रामीण सडकसमेत प्रभावित भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाजन्य विपद्को जोखिमका कारण २६ जिल्लाका जोखिमयुक्त सडक तथा राजमार्गमा आवागमन बन्द वा प्रतिबन्धित गरिएको छ। कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुर; बागमतीका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, ललितपुर र चितवनलगायत जिल्ला प्रभावित छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत सडक आवागमनमा प्रतिबन्ध लगाइएको छ।
बीपी राजमार्गदेखि पृथ्वी राजमार्गसम्म प्रभावित
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेँसी र वडा नम्बर ८ गिम्दी क्षेत्रमा पहिरो गएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रे खण्डमा रातको समयमा यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। अवस्था हेरेर दिउँसोको यातायातसमेत रोक्न सकिने स्थानीय प्रशासनले जनाएको छ।
चितवनमा निरन्तर वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरिएको छ। पहिरोको जोखिम बढेपछि यसअघि राति मात्र गरिएको यातायात रोकलाई वर्षा नरोकिएपछि थप समयका लागि विस्तार गरिएको हो। यी सडकखण्डबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले अवरोधले देशको पूर्व–पश्चिम सडक सम्पर्कमा समेत प्रभाव पारेको छ।
धादिङमा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट, जहरे, जबाङखोला, तिङ्ग्राङ खोला र कामेरेभीरलगायत सात स्थानमा पहिरो गएको छ। कृष्णभीर र तिङ्ग्राङ खोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। लगातार वर्षाका कारण पहिरो हटाउने कामसमेत प्रभावित भएको छ।
उपत्यका जोड्ने सडकमा पनि जोखिम
काठमाडौंलाई मकवानपुर र हेटौंडासँग जोड्ने कान्ति लोकपथमा समेत पहिरोका कारण यातायात प्रभावित भएको छ। ललितपुरतर्फका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। मकवानपुरका विभिन्न सडकखण्डमा समेत लेदो तथा पहिरोका कारण आवागमन प्रभावित भएको छ।
सिन्धुपाल्चोकमा बाढी तथा पहिरोको जोखिम बढेपछि जिल्लाभरका राजमार्ग तथा सडकमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। नुवाकोट र रसुवातर्फका त्रिशूली–रसुवागढी तथा पासाङल्हामु राजमार्गका विभिन्न खण्डसमेत वर्षाजन्य विपद्का कारण प्रभावित भएका छन्।
पूर्वदेखि पश्चिमसम्म असर
कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएका छन्। पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर र खोटाङलगायत क्षेत्रमा सडक सम्पर्क प्रभावित भएको छ।
पश्चिमतर्फ गुल्मीको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ। रोल्पाको घोराही–थवाङ सहिदमार्गमा समेत पहिरोका कारण यातायात रोकिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा पनि बाढी तथा पहिरोको जोखिम बढेको छ।
यसैबीच, कैलालीको टीकापुर नगरपालिकाले बाढी तथा डुबानको जोखिम बढेपछि विद्यालयमा एक दिन बिदा दिएको छ। निरन्तर वर्षाका कारण तराईका नदी तथा खोलामा समेत पानीको सतह बढ्ने जोखिम रहेको प्रशासनले जनाएको छ।
थप वर्षाको पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा पनि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षासँगै बाढी, पहिरो र आकस्मिक खोलानाला बढ्ने जोखिम रहेको छ। विभागले हिमाली क्षेत्रमा रहेका यात्रु तथा पदयात्रीलाई सुरक्षित स्थानतर्फ फर्किन र सर्वसाधारणलाई सेप्टेम्बर २५ देखि २७ सम्म लामो दूरीको सडक यात्रा नगर्न आग्रह गरेको छ।
गृह मन्त्रालयले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न र रातिको समयमा सवारी नचलाउन आग्रह गरेको छ। विपद्सम्बन्धी आपत्कालीन सहयोगका लागि ११४९, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ।
निरन्तर वर्षाका कारण जमिन कमजोर भइरहेकाले पहिरोको जोखिम भएका बस्ती, नदी तथा खोलाको तटीय क्षेत्र र सडक आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। पछिल्लो अवस्थाअनुसार वर्षा जारी रहेमा सडक अवरोध तथा बाढी–पहिरोको जोखिम थप बढ्न सक्ने भएकाले स्थानीय प्रशासन र सुरक्षा निकायले अवस्था अनुगमन गरिरहेका छन्।













समाचार
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा
गोरखामा पहिरोले खोलाको बहाव रोकिँदा बूढीगण्डकीमा आकस्मिक बाढी, तटीय बस्ती जोखिममा
कांग्रेसको नेतृत्वमा गगन थापा, अन्य पदको नतिजा कहिलेसम्म?
बिल लिने मात्रै होइन, विल दिनेले पनि पैसा पाउने ! सरकार गज्जवको उपहार योजनाको तयारीमा।