धन: जीवनको साधन कि उद्देश्य?

“लोभले मानिसलाई अरूसँग तुलना गर्न सिकाउँछ। “ऊसँग मभन्दा धेरै किन?”, “म अझै धनी कसरी बन्न सक्छु?”, “मेरो सम्पत्ति अरूभन्दा ठूलो कसरी बनाउने?” भन्ने प्रश्नहरूले मनलाई निरन्तर अशान्त बनाइरहन्छन्।”

मानव जीवनमा धनको स्थान अत्यन्त महत्वपूर्ण छ। जन्मदेखि मृत्युसम्मका धेरै आवश्यकताहरू धनसँग जोडिएका हुन्छन्। भोजन, आवास, शिक्षा, स्वास्थ्य, सुरक्षा, परिवारको पालनपोषण र सामाजिक जीवनका लागि धन आवश्यक पर्छ। धन नभए जीवनका आधारभूत आवश्यकता पूरा गर्न कठिन हुन्छ। तर आध्यात्मिक दृष्टिले हेर्दा एउटा गहिरो प्रश्न उठ्छ, धन जीवन जिउने साधन हो कि जीवनकै उद्देश्य?
धन जीवनको आवश्यक साधन हो, तर जीवनको अन्तिम उद्देश्य होइन। जीवनको उद्देश्य केवल धेरैभन्दा धेरै धन जम्मा गर्नु मात्र भयो भने मानिस धनको मालिक नभई धनको दास बन्न पुग्छ। धनले हाम्रो हातमा रहँदा शक्ति दिन्छ, तर मनमा बस्यो भने आसक्ति जन्माउन सक्छ।
धन स्वयं न राम्रो हो, न नराम्रो। त्यसको मूल्य मानिसले त्यसलाई कसरी कमाउँछ, कसरी प्रयोग गर्छ र त्यससँग कस्तो सम्बन्ध राख्छ भन्ने कुराले निर्धारण गर्छ। इमानदार श्रम, बुद्धि, सीप र सिर्जनशीलताबाट कमाइएको धन जीवनलाई सुरक्षित र समृद्ध बनाउने साधन हो। त्यसबाट आफ्नो परिवारको आवश्यकता पूरा गर्न, शिक्षा र स्वास्थ्यमा लगानी गर्न, व्यवसाय सञ्चालन गर्न, समाजसेवा गर्न र अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। यस्तो धन केवल व्यक्तिगत सम्पत्ति रहँदैन; त्यो समाजका लागि पनि उपयोगी शक्ति बन्न सक्छ।
समस्या धनमा होइन, धनप्रतिको लोभमा सुरु हुन्छ। आवश्यकता पूरा भएपछि पनि अझै धेरै चाहिरहने मानसिकता लोभ हो। लोभको कुनै अन्तिम सीमा हुँदैन। आज लाख पर्याप्त लाग्छ, भोलि करोड चाहिन्छ, करोड पुगेपछि अझ ठूलो सम्पत्ति चाहिन्छ मानिसले धन जम्मा गर्दै जान्छ, तर मनको अभाव (Insatiable desire for wealth) समाप्त हुँदैन । आध्यात्मिक भाषामा भन्नुपर्दा, बाहिरको सम्पत्ति बढ्दै गए पनि भित्रको दरिद्रता समाप्त नहुन सक्छ।
लोभले मानिसलाई अरूसँग तुलना गर्न सिकाउँछ। “ऊसँग मभन्दा धेरै किन?”, “म अझै धनी कसरी बन्न सक्छु?”, “मेरो सम्पत्ति अरूभन्दा ठूलो कसरी बनाउने?” भन्ने प्रश्नहरूले मनलाई निरन्तर अशान्त बनाइरहन्छन्। यही अवस्थाबाट आसक्ति जन्मिन्छ। जब मानिसको आत्ममूल्य उसको बैंक ब्यालेन्स, घर, गाडी, पद वा सम्पत्तिले निर्धारण गर्न थाल्छ, तब धन साधनबाट परिचय बन्न पुग्छ। आध्यात्मिक जीवनले धन त्याग्न सिकाउँदैन; मात्र धनप्रतिको गलत आसक्ति त्याग्न सिकाउँछ। संसारमा बसेर जिम्मेवारी पूरा गर्दै धन कमाउनु र त्यसलाई विवेकपूर्ण ढंगले प्रयोग गर्नु पनि जीवनको एउटा धर्म हो। प्रश्न “मसँग कति धन छ?” मात्र होइन, “मसँग भएको धनले मेरो जीवन र अरूको जीवनमा के योगदान गरिरहेको छ?” भन्ने हुनुपर्छ। धनसँग स्वस्थ सम्बन्धको पहिलो आधार हो पर्याप्तताको बोध। पर्याप्तता भनेको महत्वाकांक्षा त्याग्नु होइन। यसको अर्थ आफ्नो आवश्यकता, क्षमता र जीवनको उद्देश्य बुझेर “कति पर्याप्त छ?” भन्ने प्रश्नको उत्तर खोज्नु हो। धन कमाउनुपर्छ, तर धनका लागि आफ्नो स्वास्थ्य, परिवार, चरित्र, सम्बन्ध र मानसिक शान्ति गुमाउनु हुँदैन।
भगवान बुद्धका अनुसार धन जीवन चलाउन आवश्यक कुरा हो, तर धन नै जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनु हुँदैन। धन कमाउनु गलत होइन, तर धनप्रतिको अत्यधिक लोभ र मोहले मानिसलाई दुःखी बनाउन सक्छ। मानिससँग जति धेरै सम्पत्ति भए पनि मनमा सन्तोष छैन भने ऊ वास्तविक रूपमा सुखी हुन सक्दैन। त्यसैले धन कमाउँदा इमानदार हुनुपर्छ, आफ्नो आवश्यकता पूरा गर्नुपर्छ र आफूले कमाएको धनको केही अंश अरूको हितमा पनि प्रयोग गर्नुपर्छ। धनलाई आफ्नो जीवनको मालिक होइन, साधन बनाउनुपर्छ। बुद्धका शिक्षाले हामीलाई धनभन्दा ठूलो कुरा शान्त मन, सन्तोष, करुणा र असल कर्म हुन् भन्ने सम्झाउँछन्।
गलत तरिकाले कमाइएको धन बाहिरबाट समृद्ध देखिए पनि भित्रबाट अशान्ति जन्माउन सक्छ। आध्यात्मिक दृष्टिले कमाइको मात्राभन्दा कमाइको बाटो पनि महत्वपूर्ण हुन्छ। इमानदार श्रमबाट प्राप्त सीमित धनले पनि आत्मसम्मान दिन सक्छ। धनलाई केवल संग्रह गर्ने वस्तुका रूपमा होइन, जीवनलाई अर्थपूर्ण बनाउने माध्यमका रूपमा हेर्नुपर्छ। परिवारको सुरक्षा, शिक्षा, स्वास्थ्य, सिर्जनशीलता, उद्यम, समाजसेवा र आवश्यकतामा परेकालाई सहयोग गर्न प्रयोग भएको धनले आफ्नो सीमाभन्दा बाहिर पनि अर्थ निर्माण गर्छ।
मानिसले एक दिन यो संसार छोड्नुपर्छ। आफूले जम्मा गरेको धन यही संसारमा रहन्छ; साथ जाने कुरा हाम्रो कर्म, चरित्र, सम्बन्ध र हामीले छोडेको प्रभाव हो। त्यसैले जीवनको अन्तिम उपलब्धि बैंक खाताको संख्या होइन, आफूले कस्तो जीवन बाँचेँ भन्ने प्रश्नको उत्तर हो। धन कमाउनु गलत होइन; धनको दास बन्नु दुःखको कारण बन्न सक्छ। धनलाई हातमा राख्नु बुद्धिमानी हो, हृदयमा सिंहासन दिनु होइन। जीवनको सुन्दर सन्तुलन शायद यही हो, धन कमाऊ, तर धनमा आफूलाई नहराऊ; सम्पत्ति किन बेच गर, तर चरित्र नबेच; समृद्ध बन, तर सन्तुष्टि नबिर्स; आफ्नो जीवन उठाऊ, र सम्भव भएसम्म अरूको जीवन पनि उठाऊ। किनकि धन जीवनको साधन हो; जीवनको उद्देश्य होइन। जीवनको वास्तविक समृद्धि बाहिरी सम्पत्तिमा मात्र होइन, भित्रको शान्ति, सन्तुष्टि, प्रेम, करुणा, स्वतन्त्रता र अर्थपूर्ण कर्ममा हुन्छ।
धन एउटा निश्चित स्तरसम्म पुगेपछि त्यसको महत्व केवल व्यक्तिगत सुविधा र विलासितामा सीमित हुन थाल्छ। जीवनका आधारभूत आवश्यकता पूरा भइसकेपछि थप धनको वास्तविक मूल्य त्यसले समाज र देशका लागि कति योगदान गर्छ भन्ने कुरामा निर्भर हुन्छ। आफ्नो परिवार सुरक्षित राख्नु, राम्रो जीवन बिताउनु र भविष्यका लागि बचत गर्नु आवश्यक छ। तर त्यसपछि पनि धन केवल जम्मा गरेर राखियो र त्यसबाट कुनै उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक विकास वा राष्ट्र निर्माणमा योगदान भएन भने त्यसको सामाजिक अर्थ कमजोर हुन्छ। वास्तविक समृद्धि आफू धनी हुनु मात्र होइन, आफ्नो सम्पत्तिलाई समाज र देशको हितमा प्रयोग गरेर अरूको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउनु हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट