
मानव सभ्यताको इतिहास हेर्दा प्रत्येक युगले मानिसलाई नयाँ सुविधा र नयाँ सम्भावना दिएको छ। आगोको आविष्कारदेखि कृषि तथा औद्योगिक क्रान्ति हुँदै आजको Digital Age र Artificial Intelligence (AI) सम्म आइपुग्दा मानव जीवन अभूतपूर्व रूपमा परिवर्तन भएको छ। आज हामी केही सेकेन्डमै संसारको कुनै पनि कुनामा रहेका व्यक्तिसँग सम्पर्क गर्न सक्छौँ, असंख्य ज्ञान आफ्नै हातको मोबाइलमा प्राप्त गर्न सक्छौँ र हजारौँ किलोमिटर टाढाको दृश्य प्रत्यक्ष हेर्न सक्छौँ। बाहिरबाट हेर्दा मानव इतिहासमा मानिस यति धेरै जोडिएको समय सायद कहिल्यै थिएन। तर विडम्बना, यही युगमा मानिसले मानसिक रूपमा एक्लो, असुरक्षित र सम्बन्धविहीन महसुस गर्न थालेको छ। यही आधुनिक सभ्यताको सबैभन्दा ठूलो विरोधाभास (Paradox) हो। हामी संसारसँग जोडिँदै गएका छौँ, तर आफैँसँग र आफ्ना प्रियजनसँग टाढिँदै गएका छौँ।
मनोविज्ञान (Psychology) ले मानिसलाई केवल जैविक प्राणी होइन, सम्बन्धबाट अर्थ खोज्ने सामाजिक प्राणी मान्छ। मानिसलाई भोजन, वस्त्र र आवासजत्तिकै प्रेम, आत्मीयता, स्वीकार्यता र भावनात्मक सुरक्षा आवश्यक हुन्छ। प्रविधिले सञ्चारलाई सहज बनायो, तर सम्बन्धको गुणस्तर भने बढाउन सकेन। आज हाम्रो सम्पर्क सूचीमा हजारौँ नाम छन्, सामाजिक सञ्जालमा सयौँ वा हजारौँ मित्र छन्, तर दुःखको समयमा मन खोलेर कुरा गर्न सकिने मानिसको संख्या लगभग शून्य बराबर हुन गएको छ।
मनोविज्ञानमा Social Loneliness र Emotional Loneliness बीच स्पष्ट भिन्नता गरिन्छ। Social Loneliness भनेको सामाजिक सम्पर्कको कमी हो, तर Emotional Loneliness भनेको धेरै मानिसको बीचमा रहेर पनि आफूलाई कसैले नबुझेको अनुभूति हुनु हो। आधुनिक समाजको ठूलो समस्या दोस्रो प्रकारको एक्लोपन हो अर्थात् Emotional Loneliness हो। मानिस भीडमा छ, तर एक्लो छ। यही कारणले सामाजिक सञ्जालमा अत्यधिक सक्रिय व्यक्ति पनि भित्रभित्रै गहिरो एक्लोपनमा डुबेका छन्।
प्रसिद्ध मनोवैज्ञानिक Carl Jung ले मानिसको बाहिरी व्यक्तित्व (Persona) र भित्री वास्तविक अस्तित्व (Self) बीचको दूरी बढ्दै जाँदा मानसिक द्वन्द्व बढ्ने बताएका छन्। आधुनिक मानिसले डिजिटल संसारमा एउटा आकर्षक छवि निर्माण गरिरहेको छ, तर उसको वास्तविक मनोभाव भने त्यससँग मेल खाएको पाइँदैन। यही अन्तरले मानिसलाई आफ्नै अस्तित्वबाट टाढा पुर्याउँछ।
यसैगरी समाजमनोवैज्ञानिकहरूले उल्लेख गर्ने Social Comparison Theory अनुसार मानिसले आफ्नो मूल्याङ्कन अरूसँग तुलना गरेर गर्न थाल्छ। सामाजिक सञ्जालमा देखिने सफलता, विलासिता, यात्रा र खुसीका तस्बिरहरू प्रायः जीवनका छनोट गरिएका क्षणहरू मात्र हुन्। तर दर्शकले त्यसलाई सम्पूर्ण यथार्थ ठान्छ। फलस्वरूप आत्मसम्मान घट्छ, असन्तोष बढ्छ र Fear of Missing Out (FOMO) जस्ता मानसिक अवस्था विकसित हुन्छन्।
आज प्रविधिले हाम्रो ध्यान केन्द्रित गर्ने क्षमता पनि कमजोर बनाइरहेको छ। मोबाइलका Notifications, छोटा भिडियो र निरन्तर स्क्रोलिङले मस्तिष्कलाई तत्काल उत्तेजना खोज्ने बानी लगाउँछ। स्नायु विज्ञान (Neuroscience) ले यसलाई Dopamine Loop सँग जोडेर व्याख्या गर्छ। प्रत्येक नयाँ सूचना वा ‘लाइक’ ले मस्तिष्कमा क्षणिक आनन्दको अनुभूति गराउँछ, जसले मानिसलाई बारम्बार मोबाइलतर्फ फर्काउँछ। परिणामस्वरूप हामीसँग धेरै सूचना छ, तर कम आत्मज्ञान; धेरै मनोरञ्जन छ, तर कम शान्ति।
समाजशास्त्रीय दृष्टिले हेर्दा पनि प्रविधिले परिवार र समुदायको संरचनामा ठूलो परिवर्तन ल्याएको छ। पहिले परिवारका सदस्यहरू सँगै बसेर भोजन गर्थे, अनुभव साट्थे र समस्याहरू साझा गर्थे। अहिले एउटै घरभित्र बसेका मानिसहरू फरक–फरक स्क्रिनमा व्यस्त छन्। शरीर एउटै कोठामा छ, तर मन फरक–फरक डिजिटल संसारमा विचरण गरिरहेको छ। यो अवस्था Alone Together भन्ने विरोधाभासी अवस्थासँग मेल खान्छ।
ब्रिटिश मानवशास्त्री Robin Dunbar ले प्रस्तुत गरेको Dunbar’s Number अनुसार मानिसले वास्तवमै गहिरो सम्बन्ध सीमित व्यक्तिसँग मात्र कायम राख्न सक्छ। तर आज हामी हजारौँ डिजिटल सम्पर्कको पछि दौडिरहेका छौँ। सम्बन्धको संख्या बढेको छ, तर आत्मीयता र अपनत्व घटेको छ। दार्शनिक दृष्टिले हेर्दा मानिसको सबैभन्दा ठूलो खोज बाहिरी संसार होइन, आफ्नै अस्तित्व हो। सुकरातले भनेका थिए, “Know Thyself.” पूर्वीय दर्शनले पनि आत्मबोधलाई जीवनको सर्वोच्च उपलब्धि मानेको छ। तर आधुनिक मानिसले बाहिरी संसार बुझ्न यति धेरै समय खर्च गरिरहेको छ कि आफ्नै मनसँग संवाद गर्ने समय उहीसँग छैन। संसारका सबै समाचार थाहा छ, तर आफ्नै हृदयको अवस्था थाहा छैन।
दार्शनिक Erich Fromm ले आफ्नो प्रसिद्ध कृति The Art of Loving मा आधुनिक समाजले “Having” अर्थात् वस्तु र सम्पत्तिलाई “Being” अर्थात् अस्तित्वभन्दा बढी महत्त्व दिन थालेको बताएका छन्। यही सोचले सम्बन्धलाई पनि उपभोगको वस्तु बनाउँदै लगेको छ। त्यस्तै Viktor Frankl का अनुसार मानिसको सबैभन्दा ठूलो आवश्यकता सुख होइन, जीवनमा अर्थ (Meaning) को खोज हो। अर्थ हराएको जीवनमा प्रविधिको सुविधा पनि पर्याप्त हुँदैन।
Jean-Paul Sartre ले मानिसको अस्तित्वगत स्वतन्त्रतासँगै आउने एक्लोपनको चर्चा गरेका छन् भने Martin Buber ले वास्तविक सम्बन्ध “I–Thou Relationship” मा आधारित हुने बताएका छन्, जहाँ अर्को व्यक्तिलाई साधन होइन, सम्पूर्ण व्यक्तित्वका रूपमा स्वीकार गरिन्छ। आजका धेरै डिजिटल सम्बन्धहरू भने “I–It Relationship” मा सीमित हुँदै गएका छन्, जहाँ सम्बन्धभन्दा उपयोगिताले बढी स्थान पाएको देखिन्छ।
समकालीन दार्शनिक Byung-Chul Han ले आजको समाजलाई Achievement Society भनेर व्याख्या गर्छन्। उनका अनुसार मानिस अहिले अरूले दबाब दिएर होइन, आफैँलाई निरन्तर सफल देखाउनुपर्ने दबाबले थाकिरहेको छ। यही निरन्तर प्रदर्शनको संस्कृतिले मानिसलाई बाहिरबाट सफल देखिए पनि भित्रबाट एक्लो बनाइरहेको छ।
पूर्वीय दर्शनले मनलाई असली मित्र र असली शत्रु दुवै मानेको छ। भगवद्गीताले विषयवस्तुप्रतिको आसक्तिबाट इच्छा, इच्छाबाट क्रोध र अन्ततः विवेकको नाश हुने चेतावनी दिएको छ। बुद्ध दर्शनले पनि दुःखको मूल कारण Attachment र तृष्णालाई मानेको छ। आधुनिक मनोविज्ञानको Attachment Theory ले पनि बाल्यकालदेखि निर्माण भएका सम्बन्धहरूले मानिसको सम्पूर्ण भावनात्मक जीवनलाई प्रभाव पार्ने बताउँछ। जब वास्तविक सम्बन्ध कमजोर हुन्छन्, मानिस Existential Loneliness अर्थात् अस्तित्वगत एक्लोपनको अनुभूति गर्न थाल्छ।
यसका साथै आधुनिक अर्थशास्त्र र मनोविज्ञानमा चर्चित Hedonic Treadmill सिद्धान्तले पनि मानिस नयाँ सुविधा र उपलब्धिमा चाँडै अभ्यस्त हुने भएकाले स्थायी सन्तुष्टि प्राप्त गर्न नसक्ने बताउँछ। त्यसैले नयाँ मोबाइल, नयाँ प्रविधि वा नयाँ सफलता प्राप्त गरे पनि केही समयपछि फेरि खालीपनको अनुभूति हुन सक्छ।
यसको अर्थ प्रविधि आफैँ समस्या हो भन्ने होइन। शिक्षा, स्वास्थ्य, अनुसन्धान, विपद् व्यवस्थापन र पारिवारिक सम्पर्कमा यसको योगदान अतुलनीय छ। समस्या प्रविधिमा होइन, त्यसप्रतिको असन्तुलित निर्भरतामा छ। त्यसैले आमनेसामने संवाद (Face-to-Face Communication), ध्यान (Meditation), आत्मचिन्तन र परिवारसँग गुणस्तरीय समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न आवश्यक छ।
जापान लगायत अत्यधिक विकसित देशमा अत्यधिक प्रविधिको प्रयोगसँगसँगै एक्लिनेहरूको संख्या पनि दिनानुदिन बढ्दै गएको धेरै स्रोतहरूले देखाउँछन्। बाहिरी संसार अत्यन्तै राम्रो र सहज देखिए पनि मानिसको भित्री संसार टुटेको पाइन्छ र मानिसहरू कयौँ वर्षदेखि बन्द कोठामा एक्लै जीवन बिताइरहेको पनि पाइन्छ। के दौलत र भौतिक प्रगति मात्रैले पुग्दो रहेछ त? प्रश्न गर्ने बेला आएको छ।
अन्ततः मानिसलाई प्रविधिले होइन, अर्थपूर्ण सम्बन्धले पूर्ण बनाउँछ। जीवनको मूल्य बाहिरी उपस्थितिमा होइन, भित्री उपस्थितिमा निहित हुन्छ। संसारसँग जोडिनु प्रगतिको संकेत हो, तर आफैँ र आफ्ना प्रियजनसँग जोडिनु नै जीवनको वास्तविक पूर्णता हो। प्रविधिको प्रयोगले हाम्रो समय बचाउँछ भने त्यो समय प्रेम, करुणा, आत्मबोध र आत्मीय सम्बन्धमा लगानी गर्नुपर्छ। मानिसलाई जीवित राख्ने कुरा प्रविधि होइन, प्रेम हो। सूचना होइन, विवेक हो। र सम्पर्क मात्र होइन, अर्थपूर्ण सम्बन्ध हो।












समाचार
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली
रसुवाको विपत्ति :- प्रकृतिलाई दोष दिएर राज्य उम्कन पाउँदैन