पेप्सीकोला टाउनप्लानिङ क्षेत्र किन डुब्यो? प्राकृतिक विपत्ति मात्र होइन अव्यवस्थित शहरीकरण पनि।

काठमाडौँ, २३ श्रावण। अविरल वर्षाका कारण काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला टाउनप्लानिङ, कागेश्वरी मनोहरा नगरपालिका–९ को काँडाघारी-खहरे क्षेत्र तथा गान्धी आदर्श माध्यमिक विद्यालय वरपरका बस्ती डुबानमा परेका छन्। सडक जलमग्न हुनुका साथै बाढीले मोटरसाइकल र स्कुटर समेत बगाएपछि यस क्षेत्रको जलनिकास प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीयका अनुसार खहरे खोलामा आएको अभूतपूर्व बाढीले एउटा होण्डा साइन मोटरसाइकल र स्कुटर बगाएको थियो। यसअघि कहिल्यै नदेखेको यस्तो दृश्यले अहिले सम्पूर्ण बस्ती त्रसित बनेको छ।

स्थानीयवासी र प्राविधिक जानकारहरूका अनुसार यो डुबान केवल भारी वर्षाको परिणाम मात्र नभई, विगतमा गरिएका अव्यवस्थित पूर्वाधार निर्माण र शहरीकरणको उपज हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारअघि त्यस क्षेत्रको वर्षात्‌को पानी उत्तरतर्फ बागमती नदीमा जाने गर्दथ्यो। तर, विस्तारपछि उक्त पानीको बहाव खहरे खोलातर्फ मोडिएकाले खोलाले क्षमताभन्दा बढी पानी बोक्नुपरेको स्थानीयको दाबी छ।

खहरे चोकभन्दा तल शिवनगर टोल जाने सडक, सापकोटा ग्यास स्टोर, पुरानो ग्लोबल स्कुल, नागेश्वर महादेव मन्दिर र सनराइज चोक आसपास खोला पुरेर ह्युमपाइप राखिएको छ। बाढी आउँदा ती साना ह्युमपाइपमा फोहोर र गेग्रान थुप्रिएर निकास थुनिएपछि पानी सडक र बस्तीमा पसेको हो।

वातावरण तथा जल व्यवस्थापन विज्ञहरूका अनुसार प्राकृतिक खोलाको चौडाइ साँघुर्याउने र ढलका लागि पर्याप्त क्षमता नभएका ह्युमपाइप प्रयोग गर्ने प्रवृत्ति नै शहरी बाढी (Urban Flooding) को मुख्य कारण हो।
खोलाको प्राकृतिक स्वरूप बिगार्नु र नियमित सरसफाइ नगर्नुले यस्ता दुर्घटना दोहोर्‍याउँछ। जोखिम न्यूनीकरणका लागि तत्काल साँघुरा ह्युमपाइप हटाई पर्याप्त क्षमताको खुला जलनिकास प्रणाली निर्माण गरिनुपर्छ।”

स्थानीय बासिन्दाले महानगरपालिका र सम्बन्धित निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि दीर्घकालीन समाधान नखोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले खोलामाथि बनाइएका सबै अवैध संरचना र अवरोध तत्काल हटाउनुपर्ने। ह्युमपाइप हटाई प्राकृतिक खुला बहाव सुनिश्चित गरिनुपर्ने। खहरे खोलाको चौडाइ र पानी बहन क्षमता बढाउनुपर्ने। वर्षायामअघि नै नियमित रूपमा नाला र खोलाको सरसफाइ तथा प्राविधिक अध्ययन गरिनुपर्ने माग राखेका छन।

पेप्सीकोला-खहरे क्षेत्रको डुबानले काठमाडौँ उपत्यकाको कमजोर योजना, प्राकृतिक स्रोतमाथिको अतिक्रमण र फितलो जलनिकास संयन्त्रलाई पुनः उजागर गरेको छ। सम्बन्धित निकायले समयमै वैज्ञानिक अध्ययन गरी दीर्घकालीन समाधान नखोजे भविष्यमा अझ ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने निश्चित छ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट