दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता

काठमाडौं, २९ असोज। दसैँ भन्नासाथ नयाँ लुगा, टीका, जमरा, मीठोमसिनो परिकार र परिवारसँगको भेटघाट सम्झिन्छौँ। वर्षभरि रोजगारी, अध्ययन र व्यवसायका लागि घरबाहिर रहेकाहरू दसैँमा जन्मथलो फर्किन्छन्। तर यस वर्षको दसैँमा घर फर्किनेहरूको उत्साहसँगै बाढीपहिरोले निम्त्याएको त्रास, शोक र अनिश्चितताले पनि नेपाली समाजलाई नराम्ररी छोएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज २९ गतेसम्म २ लाख ६२ हजार ७५३ जना यात्रु ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उपत्यकाबाट बाहिरिएका छन्। दसैँ नजिकिँदै जाँदा घर फर्किनेको चाप बढेको छ। बसपार्क र प्रमुख नाकाहरूमा यात्रुको भीड देखिन थालेको छ। सडकमा देखिएको यो चहलपहल केवल यात्रुको आवागमन होइन, परिवारसँग दसैँ मनाउने नेपाली परम्पराको जीवन्त चित्र पनि हो। तर यही खुसीको अर्को पाटो पनि छ। कसैका लागि दसैँ घर फर्किने उत्सव बनेको छ भने कसैका लागि घर, परिवार र आफन्त गुमाएको पीडामाथि थपिएको कठिन समय।

गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले रसुवासहितका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो। घरबार गुमाएका, आफन्त बेपत्ता भएका र जीविकोपार्जनका आधार नष्ट भएका परिवारका लागि दसैँ यस वर्ष विगतजस्तो रहेन। बाढीबाट प्रभावित परिवारको पुनःस्थापना अझै चुनौतीपूर्ण छ। सरकारले प्रभावित परिवारलाई अस्थायी आवासमा सार्ने र आगामी तीन वर्षभित्र स्थायी आवास निर्माण गर्ने लक्ष्य अघि सारेको छ। तर घर गुमाएका परिवारका लागि राहतको रकम मात्रै पर्याप्त हुँदैन। उनीहरूलाई सुरक्षित बास, नियमित आम्दानी, बालबालिकाको पढाइ र भविष्यप्रतिको भरोसा पनि चाहिन्छ।

बाढीले निम्त्याएको मानसिक चोट झन् गहिरो छ। आफन्तको अवस्थाबारे अझै निश्चित जानकारी नपाएका परिवारका लागि चाडपर्वको खुसीमा सहभागी हुन सहज छैन। घरमा टीका लगाउने हात नै गुमाएका कतिपय परिवारका लागि दसैँ सम्झनाको पर्वभन्दा पीडाको दिन बन्न सक्छ। भोटेकोसी बाढीपीडितको पुनःस्थापना केवल भौतिक संरचना बनाउने विषय होइन, टुटेको मनोबल र सामाजिक सम्बन्धलाई फेरि जोड्ने जिम्मेवारी पनि हो।

दसैँ नजिकिँदै गर्दा असोज २५ गते गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पनि स्थानीय बस्ती, घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण जोखिममा परेका र फसेका स्थानीय, कामदार तथा पर्यटकको उद्धार गर्न नेपाली सेनाले हेलिकप्टर परिचालन गरेको थियो। बाढीको जोखिमले प्रभावित बस्तीका बासिन्दामा फेरि अर्को विपद् आउन सक्ने भय पैदा गरेको छ। घर सुरक्षित छ कि छैन, बाटो खुल्छ कि खुल्दैन, परिवारका सदस्य सकुशल छन् कि छैनन् भन्ने चिन्ताले चाडपर्वको तयारीलाई समेत प्रभावित पार्न सक्छ। विपद्‌बाट जोगिएर बाँच्नु मात्रै पर्याप्त हुँदैन; सुरक्षित महसुस गर्न सक्ने वातावरण र भविष्यप्रतिको भरोसा पनि उत्तिकै आवश्यक हुन्छ।

दसैँलाई नेपाली समाजमा पारिवारिक एकता, मेलमिलाप र आपसी सद्भावको पर्व मानिन्छ। टाढिएका आफन्त भेटिन्छन्, परिवारका सदस्य एकै ठाउँमा भेला हुन्छन् र दुःखसुख साटासाट गर्छन्। तर प्राकृतिक विपद्ले यही सामाजिक संरचनामा गहिरो चोट पुर्‍याउँछ। आफन्त गुमाएका व्यक्तिमा शोक, चिन्ता र एक्लोपन बढ्न सक्छ। बेपत्ताको पर्खाइमा रहेका परिवारका लागि अनिश्चितता झन् पीडादायी हुन्छ। घर र सम्पत्ति गुमाएकाहरूलाई अरूले मनाइरहेको उत्सव देख्दा आफ्नो अभाव थप गहिरो महसुस हुन सक्छ। बालबालिकामा असुरक्षाको भावना र पढाइमा अवरोध देखिन सक्छ भने परिवारको कमाउने सदस्य गुमाएका घरमा भविष्यको आर्थिक चिन्ता बढेकोछ

दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या बढ्नु नेपाली समाजमा घरपरिवारसँग जोडिएको संस्कृतिको बलियो संकेत हो। तर यस वर्षको दसैँले अर्को प्रश्न पनि उठाएको छ—विपद्ले घरबार र आफन्त गुमाएका नागरिकलाई राज्य र समाजले कति भरोसा दिन सकेका छन्? बाढी प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको स्पष्ट योजना आवश्यक छ। बेपत्ताका परिवारलाई कानुनी प्रक्रिया, क्षतिपूर्ति र आवश्यक प्रमाणपत्र उपलब्ध गराउने काम पनि अनावश्यक ढिलाइबिना अघि बढ्नुपर्छ। स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्छ।

यस वर्ष लाखौँ नेपाली घर फर्किंदै गर्दा विपद्ले प्रभावित परिवारको आँगनमा भने खुसी फर्किन अझै समय लाग्न सक्छ। त्यसैले दसैँको उत्सवलाई अर्थपूर्ण बनाउने बाटो अरूको पीडाप्रति संवेदनशील हुनु र पुनःस्थापनामा हातेमालो गर्नु पनि हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट