
काठमाडौं । कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले राखेको आधिकारिक स्टललाई लिएर विवाद देखिएको छ । केही फिल्मकर्मीले उक्त स्टल सीमित फिल्मको प्रचारमा मात्र केन्द्रित भएको आरोप लगाएका छन् भने बोर्डले त्यसको खण्डन गर्दै आफ्नो उद्देश्य नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नु रहेको बताएको छ ।
निर्देशक दीपक रौनियारले सामाजिक सञ्जालमार्फत असन्तोष जनाउँदै बोर्डको आलोचना गरेका छन् । उनले फेस्टिभलको ‘अफिसियल सेलेक्सन’ मा परेको नेपाली फिल्म ‘एलिफेन्ट इन द फग’को पोस्टर समेत स्टलमा नराखिएको भन्दै आपत्ति जनाएका हुन् ।
रौनियारले नेपाललाई विश्व फिल्मको नक्सामा चिनाउने अवसरको रुपमा कान्स स्टललाई प्रयोग गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरेका छन् । उनले विगतमा निर्माता रामकृष्ण पोखरेलले निजी स्तरबाट नेपाल र नेपाली सिनेमाको प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै अहिले सरकारी सहभागिता प्रभावकारी हुन नसकेको बताएका छन् ।
उनले बोर्डले विज्ञप्तिमार्फत जारी गरेको स्पष्टीकरणप्रति पनि असन्तुष्टि जनाएका छन् । सार्वजनिक सूचना निकालेर फिल्मकर्मीलाई आफैं सामग्री पठाउन आग्रह गर्नु व्यवहारिक र सम्मानजनक नभएको उनको भनाइ छ ।
रौनियारको अभिव्यक्तिपछि अभिनेता महेश त्रिपाठीसहित अन्य केही फिल्मकर्मीले पनि सामाजिक सञ्जालमा असन्तोष व्यक्त गरेका छन् ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै आरोपहरूको खण्डन गरेको छ । बोर्डले पर्यटन बोर्डसँगको सहकार्यमा पहिलोपटक आधिकारिक स्टल राखिएको जनाएको छ । उक्त स्टलको स्थानीय व्यवस्थापन बेलायतमा रहेको नेपाली कम्पनी ‘शाही प्रोडक्सन’ले गरिरहेको उल्लेख गरेको छ ।
स्टलको उद्देश्य नेपाली चलचित्र, छायांकन सम्भावना, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय सहकार्यलाई विश्व बजारमा प्रवद्र्धन गर्नु रहेको बोर्डको भनाइ छ । यसका लागि गत फागुनमै सार्वजनिक सूचना जारी गर्दै इच्छुक फिल्मकर्मीलाई पोस्टर, ट्रेलर र प्रचार सामग्री पठाउन आग्रह गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
बोर्डले ‘एलिफेन्ट इन द फग’लाई विशेष प्राथमिकतामा राखेर समेट्ने तयारी गरिएको दाबी गरेको छ । निर्माता अनुप पौडेल र निर्देशक अविनाशविक्रम शाहलाई बोर्डमा बोलाएर बधाई तथा शुभकामना दिइएको र स्टलमा फिल्मलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने विषयमा छलफल भएको पनि बोर्डले जनाएको छ ।
तर, आवश्यक प्रचार सामग्री समयमै उपलब्ध नभएका कारण स्टल पूर्ण रुपमा व्यवस्थापन गर्न कठिन भएको बोर्डको भनाइ छ । नेपाल सरकारको वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम समयमा प्रतिनिधि पठाउन समस्या परेको र स्थानीय साझेदारमार्फत स्टल सञ्चालन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
अहिले बोर्डको कान्स स्टलमा निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्काले आफू संलग्न फिल्मको पोस्टर राख्दै फोटो सार्वजनिक गरिरहेका छन् । फोटो बाहिर आएपछि विरोध आउन थालेको हो ।
शाहीले निर्देशन गरेको ‘एक्लो’ लगायतका फिल्मको पोस्टर त्यहाँ देख्न सकिन्छ । तर, अहिलेको अफिसियल सेलेक्सन मात्र होइन, बोर्डलाई प्रचारका लागि उपलब्ध गराइएका फिल्मको प्रचार सामग्री राखिएको छैन ।













समाचार
जलवायु न्यायको अन्तर्राष्ट्रिय चुनौती र नेपालको गम्भीर आन्तरिक सङ्कट
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली