
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारततर्फ सिधा उडान भएको छ, जहाँ बिरामी भारतीय नागरिकलाई मेडिकल चार्टरमार्फत भारत लगिएको हो।
भारतको मध्य प्रदेशका केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहान र बिरामी परिवारको समन्वयमा श्री एयरलाइन्सको जहाजले भोपालका लागि उडान भरेको छ।
पोखरा विमानस्थलबाट भारततर्फ उडान अनुमति पहिलोपटक बिरामी उद्धारका लागि दिइएको हो र यसले भविष्यमा थप उडानका लागि सहजता ल्याउने विश्वास गरिएको छ।
५ जेठ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारततर्फ सिधा उडान भएको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका भारतको मध्य प्रदेश, भोपालका गोपाल शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत भारत लगिएको हो ।
आइतबार मुक्तिनाथबाट फर्किँदा मुटु र फोक्सोमा समस्या देखिएपछि उनलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।
चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार डा. राज बस्नेत र सरोज अर्यालसहितको स्वास्थ्यकर्मीको टोली लिएर श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा भोपालका लागि उडान भरेको हो । उक्त जहाज भारतको राजा भोज विमानस्थलमा अवतरण गर्नेछ ।
भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवम् मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीको परिवारको समन्वयमा श्री एयरलाइन्सको यो चार्टर उडान तय भएको हो । मुक्तिनाथ दर्शनका लागि आएका श्रीवास्तव मन्त्री चौहाननिकट रहेका कारण उच्चस्तरको समन्वयमा जहाजमार्फत भारत लैजाने अनुमति प्राप्त भएको प्रबन्ध निर्देशक पोखरेलले बताए । चौहान सन् २०२४ को लोकसभा निर्वाचनपछि भारतको संघीय मन्त्रिपरिषद्मा कृषिमन्त्री छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार पोखराबाट भारतका लागि उडान भएको यो पहिलो पटक हो । १७ पुस २०७९ मा उद्घाटन भएको यस विमानस्थलबाट यसअघि चीन र भुटानलगायतका देशमा चार्टर उडान भइसकेका छन् ।
विमानस्थल निर्माण सम्पन्न हुनुपूर्वदेखि नै पोखराबाट सिधा उडानका लागि भारतसँग छलफल भए पनि भारतले अनुमति दिएको थिएन । प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको भारत भ्रमणका क्रममा पोखरा विमानस्थलबाट उडानको एजेन्डाले प्राथमिकता पाउने गरे पनि भारत यसमा सकारात्मक बनेको थिएन ।
भारतीय नागरिक बिरामी पर्दा उद्धारकै रूपमा भए पनि पहिलो पटक पोखराबाट भारततर्फ जहाज उड्नुलाई विमानस्थल प्रशासनले अर्थपूर्ण रूपमा हेरेको छ । प्रमुख निरौलाले बिरामीकै कारण भए पनि भारततर्फ उडानको ढोका खुलेको र यसले भोलिका दिनमा थप समन्वयका लागि सहजता ल्याउन सक्ने विश्वास व्यक्त गरे ।
२०७२ सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निर्णय हुँदा र पछि शिलान्यास हुँदा पोखरावासीमा ठूलो उत्साह थियो । तर, भूराजनीतिक चपेटा र प्रभावकारी कूटनीतिक पहलको अभावमा उद्घाटनको लामो समयसम्म पनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
चीनको ऋण लगानीमा निर्माण भएका कारण भारतले यहाँबाट हुने उडानलाई अनुमति नदिएको कतिपय जानकारहरूको विश्लेषण रहँदै आएको छ । सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच विमानस्थल निर्माणको सम्झौता भएको थियो ।
त्यसपछि सन् २०१६ मा नेपाल सरकार र चाइना एक्जिम बैङ्कबीच २१६ मिलियन अमेरिकी डलर ऋण लिने र सीएएमसीले ‘टर्न की प्रोजेक्ट’ का रूपमा निर्माण गर्ने सहमति भएको थियो ।
२२ अर्ब लगानी भएको भनिएको यो विमानस्थल अहिले भ्रष्टाचारको दलदलमा रहेको चर्चा छ भने धमाधम मुद्दा दायर पनि भइरहेका छन् । विमानस्थलको निर्माणमा भएको भ्रष्टाचार र भूराजनीतिक मारका कारण अहिलेसम्म नियमित उडान हुन नसकेकोमा पहिलो पटक एक भारतीय नागरिक बिरामी परेको अवस्थामा चार्टर उडान सम्भव भएको हो ।













समाचार
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा
गोरखामा पहिरोले खोलाको बहाव रोकिँदा बूढीगण्डकीमा आकस्मिक बाढी, तटीय बस्ती जोखिममा