धादिङ मझिमटारमा आज पनि दुई घण्टा पृथ्वी राजमार्ग बन्द, आकाशे पुल बन्दै।

काठमाडौं, १७ कार्तिक। पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा आज (मंगलबार) पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ। निर्माणाधीन आकाशे पुलमा गर्डर राख्ने काम सोमबार सम्पन्न हुन नसकेपछि बाँकी कामका लागि आज पुनः सडक बन्द गर्न लागिएको हो।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा निर्माण भइरहेको आकाशे पुलमा सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोकेर गर्डर राख्ने काम गरिएको थियो। तर, निर्धारित समयमा एउटा मात्रै गर्डर राख्ने काम सम्पन्न भएपछि बाँकी दुईवटा गर्डर जडान गर्न आज पनि सडक बन्द गर्नुपर्ने भएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बिहान ९ बजेदेखि ११ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ। सडक बन्द रहने अवधिमा काठमाडौं, चितवन, पोखरा तथा अन्य गन्तव्यतर्फ जाने र आउने सवारीसाधन प्रभावित हुनेछन्। त्यसैले यात्रु तथा सवारी चालकलाई समय व्यवस्थापन गरेर यात्रा गर्न आग्रह गरिएको छ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न प्रमुख सहर तथा पश्चिम नेपालसँग जोड्ने व्यस्त सडक मार्ग हो। निर्माणाधीन आकाशे पुलमा गर्डर राख्ने क्रममा सम्भावित दुर्घटना रोक्न र काम सुरक्षित रूपमा सम्पन्न गर्न सवारी आवागमन रोक्नुपरेको हो।

निर्माण कार्यका कारण यात्रु तथा चालकलाई पर्न जाने असुविधाप्रति सम्बन्धित निकायले क्षमासमेत मागेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट