
काठमाडौं । काठमाडौंको गोकर्ण क्षेत्रमा सडक विस्तार गर्ने क्रममा जनप्रतिनिधि र नेपाली सेनाका प्रतिनिधिबीच विवाद भएको छ। माकलबारीबाट गोकर्णेश्वर मन्दिर जोड्ने सडकको साँघुरो खण्ड विस्तार गर्न सोमबार जनप्रतिनिधि र स्थानीयवासी पुगेपछि घटनास्थलमा केहीबेर भनाभन भएको हो।
नेपाल ट्रस्टको स्वामित्वमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट परिसरको पर्खालको एक भाग हटाएर सडक विस्तार गर्न थालिएपछि त्यस क्षेत्रको सुरक्षा जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनाले आपत्ति जनाएको बताइएको छ। सेनाका प्रतिनिधिले यस्तो काम अघि बढाउनुअघि सम्बन्धित निकायको आधिकारिक स्वीकृति वा पत्र आवश्यक पर्ने धारणा राखेका थिए।
स्थानीय स्रोतका अनुसार काठमाडौं–३ का सांसद राजुनाथ पाण्डे, गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महत तथा स्थानीयवासी सडक विस्तारका लागि डोजर लिएर पुगेका थिए। त्यसक्रममा सेनाका अधिकृत र जनप्रतिनिधिबीच सडक विस्तारको वैधानिक प्रक्रिया र आवश्यक अनुमतिबारे छलफल भएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद पाण्डेले जनताको सहज आवागमनका लागि सडक विस्तार आवश्यक रहेको र यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग पनि छलफल भएको बताएका देखिन्छन्। उनले सुरक्षा व्यवस्थामा कुनै असर नपर्ने दाबी गर्दै जीर्ण अवस्थामा रहेको पर्खाल हटाउनु उपयुक्त हुने धारणा राखेका छन्।
यता सेनाका अधिकृतले भने आफ्नो सुरक्षा जिम्मेवारीभित्र पर्ने क्षेत्रमा कुनै संरचना हटाउने वा सडक खोल्ने कार्यका लागि आधिकारिक अनुमति अनिवार्य हुने अडान व्यक्त गरेका छन्।
स्थानीयवासीका अनुसार सडक विस्तारका क्रममा पुरानो पर्खालको केही भाग मात्र हटाइएको हो। कुनै रुख नकाटिएको र सडक जोड्ने काम वर्षौंदेखिको स्थानीय माग भएको उनीहरूको भनाइ छ।
सडक विस्तारपछि बागमती करिडोरको उक्त खण्ड दुवैतर्फबाट जोडिएको जनाइएको छ। यसबाट आलापोट, भद्रवास र सुन्दरीजल क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच, आफ्नो जानकारी र स्वीकृतिविना सडक विस्तार गरिएको विषयमा प्रधानसेनापति अशोक सिग्देलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको दाबी गरिएको छ। साथै, सांसद पाण्डेले प्रधानमन्त्रीको नाम उल्लेख गर्दै घटनास्थलमा रहेका सैनिक अधिकृतसँग असन्तुष्टि जनाएको विषय पनि प्रधानमन्त्रीसमक्ष उठाइएको स्रोतको भनाइ छ। यद्यपि, यसबारे नेपाली सेना वा प्रधानमन्त्री कार्यालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन्।












समाचार
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा
गोरखामा पहिरोले खोलाको बहाव रोकिँदा बूढीगण्डकीमा आकस्मिक बाढी, तटीय बस्ती जोखिममा