एमाले–नेकपा बीच प्रदेश सरकारको नयाँ सत्ता समीकरण, पाँच प्रदेशको नेतृत्व टुंगियो

काठमाडौं। देशभर प्रदेश सरकारहरूको नेतृत्व र सत्ता साझेदारीलाई लिएर जारी राजनीतिक अन्योल अन्त्य गर्ने प्रयासस्वरूप नेकपा (एमाले) र नेकपा वीच सहमति भएको छ। दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रअनुसार प्रदेश सरकार गठनदेखि नेतृत्व बाँडफाँटसम्मको स्पष्ट खाका तयार गरिएको हो।

दुवै दलले विगतमा प्रदेशसभामा देखिएका बजेट निर्माण, बजेट बाँडफाँट तथा राजनीतिक असमझदारीले विकास निर्माणका काम प्रभावित भएको निष्कर्ष निकाल्दै अब राजनीतिक स्थायित्व, सुशासन र विकासलाई केन्द्रमा राखेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले पाउनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्नेछ। मधेश र गण्डकी प्रदेशको हकमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग छलफल र सहमतिका आधारमा नेतृत्व तथा सत्ता साझेदारीको स्वरूप तय गरिने उल्लेख गरिएको छ।

दुई दलले प्रदेशसभामा आवश्यक परेका स्थानमा संयुक्त रूपमा सरकार गठन गर्ने र एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। यससँगै प्रदेश राजनीतिको नयाँ सत्ता समीकरणले आगामी दिनमा सरकारहरूको स्थायित्व र नीति कार्यान्वयनमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका रूपमा हेरिएको छ।

सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर रहेको छ। राजनीतिक वृत्तमा यसलाई प्रदेश सरकारहरूको समीकरण पुनः व्यवस्थित गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ।

यो सहमतिपछि अब सबैको ध्यान मधेश र गण्डकी प्रदेशको नेतृत्व कसको हातमा जानेछ र अन्य दलहरूले कस्तो भूमिका खेल्नेछन् भन्ने विषयमा केन्द्रित भएको छ।

 

फेसबुक प्रतिक्रिया

ताजा अपडेट